साउन १४, काठमाडौँ । धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । कान्तिपुर दैनिकमा लेखिएको समाचारमा मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा परेका उल्लेख छ ।

परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधिसमेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले भने, ‘धनीको नाम गरिबको परिचयपत्रमा उल्लेख भएर आएको रहेछ । वितरण प्रक्रियामै तनाव होलाजस्तो छ ।’
उनको वडामा आगामी २० गतेपछि परिचयपत्र वितरणको कार्यक्रम छ । ‘परिचयपत्र रद्द वा स्थगन गर्नुपर्छ । वास्तविक गरिब परिवारले पाउने गरी वितरण व्यवस्था मिलाइयोस्,’ उनले भने । अधिकारीको वडामा गरिब परिचयपत्र पाउनेको सूचीमा ६० प्रतिशतभन्दा बढी गरिबीको रेखामाथिका नागरिक छन् ।








