जेठ ४, इटहरी । विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो राष्ट्रिय इटहरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।
किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीले उपाधिसँगै नगद ७५ हजार हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको पुलिसले ४० हजार प्राप्त ग¥यो ।
इटहरीस्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । पुलिसका लागि रोशन भुजेलले नटआउट २९ रन बनाउँदा कुशल भुर्तेलले २५, प्रेम तामाङले १८ र योगेन्द्र कार्कीले १६ रनको योगफल बनाएका थिए । बलिङतर्फ आर्मीका हरिकृष्ण झाले तीन, साहब आलमले दुई र जीतेन्द्र मुखियाले एक विकेट लिएका थिए ।
आर्मीले १ सय २१ रनको विजयी लक्ष्य पछ्याउँदै १७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । आर्मीका लागि अनिल मण्डलले नटआउट ५२ रन जोड्दा महेश क्षत्रीले ३२, विनोद भण्डारीले २० र राहुल विश्वकर्माले ११ रनको योगदान गरे ।
प्रतियोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान मेची क्रिकेट एकेडेमी झापाका अंकित सुवेदी घोषित भए । दुवैले ५–५ हजार प्राप्त गरे ।








