जेठ १६, काठमाडौँ । मंगलबार संसदमा प्रस्तुत बजेटमाथि प्रदेश सरकारका मुख्यमन्त्रीहरूको मिश्रित प्रतिक्रिया आएको छ । उनीहरूले समग्रमा बजेट राम्रै भएपनि प्रदेशलाई भने दिइनुपर्ने अधिकारबाट वञ्चित गरिएको गुनासो गरेका छन् ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बजेटमा केन्द्रीकृत मानसिकता देखिएको बताएका छन् । उनले बजेत समग्रमा राम्रो भए पनि प्रदेश र स्थानीय तहमा योजना अपेक्षाकृत हस्तान्तरण नगरेको बताए । ‘बजेट समग्रमा राम्रो छ ।’ उनले भने ‘तर, यो बजेटले प्रदेश र स्थानीय तहमा योजना तथा बजेट जुन अनुपातमा हस्तान्तरण गर्नुपथ्र्यो, त्यो हुन सकेन ।’
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमुखी बजेट नभएको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘प्रादेशिक संरचनामा प्रदेशलाई जति बलियो बनाउन सकियो त्यही अनुरुप संघीयता बलियो हुने हो । संघीय संरचनाअनुसार राज्य सञ्चालनको अभ्यास सुरु भए पनि अगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट प्रदेशमुखी हुन सकेको छैन ।’
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई उपेक्षा गरेको दाबी गरेका छन् । उनले भनेका छन्– ‘कर्णालीलाई उपेक्षा गरेर संघीय सरकारको बजेट आयो । हामीले संघीय सरकारसँग विशेष आर्थिक प्याकेज माग गरिरहेका बेला सरकारले अघिल्ला वर्षहरुको भन्दा कम बजेट र कार्यक्रम ल्याएको छ ।’ प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट संघीयताको मर्म विपरित भएको बताएका छन् ।
मुख्यमन्त्री भट्टले भने ‘बजेटको पूर्ण पाठ अध्ययन गरिसकेको छैन । सरसरती सुनेको आधारमा प्रारम्भिक प्रतिक्रिया दिदाँ संघियताको मर्म अनुसारको बजेट आएको देखिदैन ।’ यो खबर नागरिक दैनिकमा छ ।







