जेठ २२, काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमबाट प्रायोगिक गणित हटाइएकामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का गणित विषयका विद्यार्थीले आपत्ति जनाएका छन् । गणितलाई अनिवार्य विषयको रूपमा स्थापित गर्न माग गर्दै गणित विद्यार्थी संघर्ष समिति नेपाल गठन गरी सोमबार पाठ्यक्रम विकास केन्द्र प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै आपत्ति जनाएका हुन् ।

‘रातारात छापामार शैलीमा कक्षा ११ र १२ को पाठ्यक्रमबाट प्रायोगिक गणित विषय नराखी विद्यालय शिक्षाको पाठ्यक्रम पारित गरेकोमा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौँ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यस विषयवस्तुमाथि नजरअन्दाज गरिएमा हामी जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुनेछौँ ।’
विज्ञान र प्रविधिको युगको मुख्य आधार गणित विषय भएको भन्दै यो हटाउँदा लङ्गडो पाठ्यक्रम बनेको पत्रमा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा यही जेठ १८ गते विद्यालय शिक्षाको पाठ्यक्रम पारित भएको थियो ।








