जेठ २९, खलंगा । सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका भगवती आधारभूत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेको खबर आजको कान्तिपुरमा छ ।

महाकाली नगरपालिका–६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको छ ।
शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयलाई आफू माथि हातपात गरेको जानकारी गरेपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिप्रका ल्याउँदै थिए ।
घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म १ ज २१२ नम्बरको जिपबाट ल्याउँदै गर्दा जिप गुडिरहेकै बेला शिक्षक रैखोला नदीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








