असार ४, काठमाडौँ । रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छन् ।
“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भनिन्, “संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।”
हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उनले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिइन् ।








