असार १६, काठमाडौँ । नागरिक दैनिकमा छापिएको समाचार अनुसार तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ ।

सेनफ्लाइ नामक भुसुनाको टोकाइबाट सङ्क्रमण हुने कालाजार नेपालमा सन् १९८६ देखि फेला परेको हो । प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाका अनुसार तीन वर्षयता हुम्ला, मुगु, बाजुरा, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा पनि कालाजारका बिरामी भेटिएका छन् ।
कालाजार संक्रमण शरीरमा प्रवेश गरेपछि कलेजो, फियो हुँदै रगतका सेलहरूमा समेत पुगेर क्षति गर्छ ।








