साउन १४, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ ।
कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए ।
उता काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ ।
फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए ।
अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचार अनुसा बारा बारागढी गाउँपालिका–६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् ।








