जेठ १७ काठमाडौँ । संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा विवादका कारण अन्योलमा परेको छ । सेवा अवधि कति राख्ने भन्ने विवादका कारण मस्यौदा निर्माण पेचिलो बनेको खबर नयाँपत्रिकामा छ ।
हाल ३० वर्ष सेवा अवधि रहेकोमा नयाँ ऐनमा २८ वर्ष बनाउनुपर्ने तर्क प्रहरीका केही उच्च अधिकारीले गरेका छन् । अब ३० वर्ष नै कायम राख्ने कि २८ वर्ष बनाउने भन्ने विवाद भएकाले ऐनको मस्यौदाले अन्तिम रूप लिन सकेको छैन ।
‘गृह मन्त्रालय संघीय प्रहरी ऐनको मस्यौदा निर्माणमा जुटिरहेको छ । यसले करिब–करिब आकार लिएको छ । केही विषय टुंगिन बाँकी छन् । केही विवादित विषयलाई पनि टुंग्याएर छिट्टै अन्तिम रूप दिइनेछ,’ गृहका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
कार्यावधिका सवालमा प्रहरी उच्च अधिकृतहरूको मत बाझिएको हो । आफ्नो स्वार्थअनुकूल ३० र २८ वर्षमा लबिङ चलिरहेको छ । ‘३० वर्षे कार्यावधिको सम्बन्धमा कुरा मिलेको छैन । व्यक्तिकेन्द्रित भएर कुरा उठिरहेको छ । कोही ३० वर्षे हटाउने भन्छन्, कोही कायम राख्नुपर्छ भन्छन्,’ गृहप्रवक्ता सुवेदीले भने, ‘तर, कानुन व्यक्तिकेन्द्रित भएर बन्ने होइन । गृह त्यसैको तयारीमा छ । ३० वर्षे हट्ने वा रहने विषय बहसमा छ । आउने बैठकमा यो टुंगिन्छ ।’








