०३ बैशाख २०८३ , बिहिबार

तोडियो बेनी–जोमसोम सडकको सिण्डिकेट

जेठ २१, म्याग्दी । विगत पाँच वर्षदेखि बेनी–जोमसोम सडकको कायम सिण्डिकेट तोडिएको छ ।

बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।

 

विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ लिलाधर अधिकारीले बताए ।

 

२०७१ वैशाख ८ गते तत्कालीन यातायात व्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारीसाधनलाई सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तीर्थयात्री आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात व्यवसायीको गाडी चढेर जान बाध्य थिए ।

 

यस्तो व्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डिकेटधारी स्थानीय यातायात व्यवसायीलाई सहयोग पुगेको थियो । नयाँ निर्णयअनुसार २७ फिटसम्म लम्बाइ भएका (दुई सापटे) ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न सकिने जनाइएको छ ।

 

यो सडकमा हाल जलविद्युत् र सडक आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *