जेठ २१, काठमाडौँ । ३३ किलो सुन तस्करी एवम् सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले शंका व्यक्त गरेका खबर आजको कान्तिपुर दैनिकमा छ ।

सुन तस्करी प्रकरणमा मुछिएकाहरु धमाधम पक्राउ पर्ने र आत्मसमर्पण गर्दै अदालतमा पुग्ने क्रम बढेपछि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले जारी अनुसन्धानमा नै शंका व्यक्त गरेका हुन् ।
उक्त प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेल लगायतले औंल्याएका छन् ।
पूर्वएआईजी भण्डारीले पछिल्लो अनुसन्धानले केही प्रश्न जन्माएको बताउँदै भने, ‘अन्डरकभर अप्रेसनलाई कसरी नियमावलीले समेट्ने र अनुसन्धानकर्मीले व्यक्तिगत रूपमा कहिलेसम्म जोखिम उठाइरहने ?’ भण्डारीले संगठित अपराधको अनुसन्धानमा जुटेको प्रहरीलाई केही विशेषाधिकार दिइनुपर्नेमा पछिल्लो घटनामा अनुसन्धानरत प्रहरीलाई नै जेल पठाइहाल्ने हतारो गरिएको बताए ।
उनले भने, ‘प्रहरी संगठन नै यसबारे बोल्नुपर्ने थियो । यो राम्रो भएन ।’ भण्डारीले अनुसन्धान सिलसिलामा प्रहरीले सूचना चुहाउन संगठित आपराधिक समूहसँग मिलेजस्तो गर्नुपर्ने, बार्गेनिङको नाटक गर्नुपर्नेजस्ता अभ्यास हुने अनुभव सुनाए ।








