असार ३, झापा । झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् ।
दूध बिक्न छाडेपछि किसानले शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर विरोध जनाएका खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् ।
दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो ।
तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरीले दूध खरिद गर्न छाडेपछि किसानले दूध सडकमा पोखेर विरोध जनाएका हुन् ।








