असार ४, काठमाडौँ । समायोजन गरिएका सरकारी कार्यालयका र कर्मचारीहरू साउन १ पछि के हुने भन्ने अन्योलमा परेका छन् ।
औपचारिक रुपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले गर्दा मन्त्रिपरिषद्को बैठकले असार मसान्तसम्म सो कार्यालय रहने नीतिगत निर्णय गरेको भए पनि यसले गर्दा साउन १ पछि कार्यालयहरु के हुने भन्ने अन्योल बढ्दै गएको हो ।
‘असार मसान्तसम्म त जसोतसो काम गरौंला, त्यसपछि के गर्ने भनेर विषयगत कार्यालयका कर्मचारी अन्योलमै रहेका छन्’ –जिल्ला समन्वय समिति ललितपुरका समन्वय अधिकारी दुर्गादेवी अधिकारीले भने । विषयगत कार्यालयका कर्मचारी समायोजन नभएसम्म कार्यालयका स्रोत र साधन स्थानीय तहमा हस्तान्तरण गर्न नसकिने समितिले जनाएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।








