असार २८, काठमाडौँ । आजको शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा लगानीकर्ता निराश भएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षा गरिरहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको हो ।

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ ।








