जेठ २७, कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहान सुरक्षा शिविरमा आक्रमण गर्दा कम्तिमा १९ जना प्रहरीले ज्यान गुमाएको बताइएको छ ।

विद्रोहीले आगामी हप्तादेखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घटनाको तालिवान समूहले जिम्मेवारी लिइसकेको छ । यसैबीच तालिवानी विद्रोहीले एक दिन पहिले पनि पश्चिमी प्रान्त हेरातमा आक्रमण गर्दा १७ सैनिकको मृत्यु भएको थियो ।
कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा भनिएको छ, “शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ।”
प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक सङ्ख्या १९ भएको पुष्टि गर्दै घटनामा ८ तालिवान लडाकूको पनि मृत्यु भएको बताए ।








